ऋिषितर्पणी (जनैपूर्णिमा) रक्षाबन्धन र यस्को महत्व

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार ०४:३१

पं. रामबाबु लुईटेल

“येन वद्धो वलीराजा दानवेन्द्रो महावल ।
तेन त्वां प्रतिवध्नामि रक्षेमा चल मा चल ।।”

“जुन रक्षा (कॉंचो धागो) ले दानवहरूको महान राजा वलीलाई बॉंधिएको थियो । म तिमीलाई त्यहि धागोले बॉंध्दछु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।
विशेषत व्राम्हण, क्षत्रिय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समूदायमा व्राम्हण पूरोहितसँग हातको नाडिमा मन्त्रेको डोरो (रक्षासूत्र) लगाएर यो पूर्णिमा मनाईने गरिएको छ ।

“यज्ञोपवीतं परमं पवित्रं प्रजापतयत्सहजं पुरस्तात् ।
आयुष्यमग्रयं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं वलमस्तु तेज: ।।”

जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक/अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ । ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ– यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामथ्र्य प्रदान गर्छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ । अग्निसमान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यबाट पुष्टि हुन्छ । सधंै सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने वेद र गृह्यसूत्रले भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो संधै जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ । यज्ञोपवितमा ९ डोरा हुन्छन् । तीमध्ये पहिलामा ॐकार, दोस्रामा अग्नि, तेस्रामा नाग, चौथामा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ साथै तीन ग्रन्थि (गाँठा) मा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ । जनैलाई शौचका समयमा दाहिने कानमा बेर्ने चलन छ । जनैमा मलमूत्रको स्पर्श नहोस् भन्ने यसको मूल मर्म रहेको हुनु पर्दछ
यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक–फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ । ब्रह्मचारीले समावर्तनपश्चात् ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् । जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । आर्यत्वका त्यस्तै चिह्न शिखा र सूत्र हुन् । जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो ।

क्वॉंटी खाने दिन
यो चाडमा छुटाउन नहुने विषेश परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको “क्वॉंटी” हो नेपालभाषामा क्वातिको शाब्दिक अर्थ “क्वॉं “भनेको तातो परिकार “ति” भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो ।आजको दिनलाई क्वॉंटी खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि भिजाई राखेको विभिन्न ९ प्रकारका गेडागुडीहरू (मुंग,मास,भटमास,सानोकेराउ,मस्याँग,चना,सिमी र वकुल्लो ) गरी नौ थरिका गेडागुडी मिसाएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जव टुसा उम्रिन्छ त्यसलाई क्वॉंटी भनिन्छ ।हरियो टुसा पलाएको गेडागुडीलाई विषेश गरि झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन क्वॉंटीको महत्वपूर्ण स्वाद पनि हुने कुरा विश्वास गरिन्छ ।


३१ श्रावण २०७६, शुक्रबार ०४:३१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....