श्रावण (कर्कट) संक्रान्ति र यस्को महत्व

श्रीसंवत २०७६ सालको श्रावण १ गते बुधबार आज साउने (कर्कट) संक्रान्ति, श्रीसूर्य नारायण मिथुन राशीलाई छोडेर कर्कट राशीमा प्रवेश गर्नुभएको छ, र साथै आजबाट सूर्यनारायणको गति माघ महिना सम्म ६ महिना दक्षिणायन भएको छ । देवताहरूको ६ महिनाको दिन ६ महिनाको रात हुने हुँदा,सूर्यनारायण उत्तरायण हुँदा दिन र सूर्यनारायण दक्षिणायन हुँदा रात हुने भएकोले आजबाट देवताहरूको रात्रीको सुरूवात भएको हुँदा यस अवधीभर विवाह,ब्रतवन्ध आदि शुभ कार्यहरू गर्न नहुने शास्त्रीय मान्यता रही आएको छ । आजबाट गृष्म ऋतु असार महिना सकिएर बर्षा ऋतु पनि सुरू हुने यो महिना सनातन हिन्दूधर्मावलम्बीहरुको लागि विषेश महत्वको महिना पनि मानिन्छ ।चातुर्मास ब्रतको सुरूवातको यस महिनामा पालनकर्ता भगवानविष्णु ४ महिना क्षीरसागरमा सयन गर्नुहुने हुँदा आफ्ना सम्पूर्ण पुत्रवत पालना गरेका प्राणीहरुलाई लालन पालनको जिम्मा भगवान शंकर र ब्रम्हालाई प्रदान गर्नुभएकोले यो महिना विषेश रूपमा आराध्यदेव भगवान शिवजीको पूजा अर्चना गरेर मनाईन्छ । यो रंगीन महिनाको सुरूवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रंगमा यस पर्वको विषेश अर्थ रहेको पाईन्छ ,आफूले चाहे जस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख,शान्ति र कान्ति छाईरहोस भनेर यस महिनाको प्रत्येक सोमबार हिन्दू महिलाहरूले हरियो चुरा,लुगा पोते गोडामा मेहेन्दी लगाएर शिव मन्दिरमा जल,भांग,धतुरो तथा वेलपत्र समर्पण गरि सौभाग्य,सफलता,तथा योग्य वर पाउँ भनि ब्रत बस्ने चलन चलि आएको छ । घर-घरमा पनि यस महिनामा भगवान शिवको आराधना सहित रूद्राभिषेक (रूद्री) लगाउँने गरिन्छ । साथै शिवालयहरूमा यो महिनाभरि नै शिवलिंगमा जल,दूध,दही,घ्यू,मह,चिनी आादि द्धारा अविछिन्न जलधारा अर्पण गर्नुका साथै शैवधर्मावलम्बीहरूले बोल बम भन्दै बिभिन्न तिर्थ तथा नदीहरूबाट नांगै खुट्टाबाट हिंडेर बोकेर जल ल्याई शिवलिंगमा जलधारा लगाई ब्रत बसी शिवको आराधना र भजन कीर्तन गर्ने गर्दछन । बर्षा ऋतुको सुरूवात सँगै जताततै हिलोमैलो र फोहर मैलाको संसर्गबाट सजिलै मुक्ति हओस र झाडा पखाला र यस्तै अन्य रोगले कहिं कसैलाई दु:ख नपरोस भन्नाका खातिर हिन्दू धर्मावलम्बीहरुले आ-आफ्ना घर-घरमा साउने संक्रान्तिको दिनमा लुतो फाल्ने चलन पनि रहीआएको छ । लुतो फाल्दा मसिना दाउराको कप्टेरा सल्काएर ए फलाना हाम्रो घरको लुतो लैजा है भनेर चार दिशामा मिल्काईंन्छ ।यसरी लुतो फाले पछी लुतो बिभिन्न फोहरको कारणले लाग्ने रोग लाग्दैन भन्ने मान्यता रहीआएको छ ।
-पं. रामबाबु लुईटेल
१ श्रावण २०७६, बुधबार ०५:२४ मा प्रकाशित