छाती भित्र देश बोक्ने मान्छे

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार ०५:४१

झट्ट हेर्दा लाग्दो हो, छाती भित्र पनि कसैले देश बोक्न सक्छ र ? यो शिर्षकलाई तपाई हाम्रो मन र मस्तिष्कले सहज ढंगले लिन सक्ला नसक्ला त्यो आफ्नो ठाउँमा छ आखिरमा सत्य सत्यनै हुन्छ । भनिन्छ संसार डुल्नेले आँफैलाई भुल्छ तर झुपडीनै भए पनि घर भुल्न सक्दैन । घर भनेकै मन्दिर हो । मन्दिर भनेकै देश हो । जहाँ आफ्नो पुर्खाको रगत,पसिना,समय र अतितले कोरेको सुन्दर चित्र हुन्छ । आफ्ना ब्याल्यकालका सुन्दर तस्विर सबैले कलेजोको पन्नामा लुकाएका हुन्छन् । प्रत्येक मानिसको मानसपटलमा आफ्ना बाल्यकालका स्मृतिका गहिरा छापहरू कोरिएर रहेका हुन्छन् । हाम्रो शरिरमा एक थोपा रगत,एक मुठी स्वास र मुटुको एक धड्कन रहे सम्म हामी जहाँ जहाँ भए पनि हाम्रो मानसपटल, मन ,मुटु र ह्रदयबाट देश कहिल्यै पनि मेटिन सक्दैन ।

संसार भर छरिएर रहेका एनआरएनए भनेका ती ब्यक्ति हुन जो आफ्नो दु:ख,गरिवी,बेरोजगारी,उच्च शिक्षा हाँसिल गर्न मात्रै नभई सामाजिक अन्याय,राजनीतिक प्रतिशोधको सिकार सँगै द्वन्दको चपेटाले थिलोथिलो भएर आफ्नो दुई मुट्ठी प्राण धान्न बँचेकुँचेको जीवन र सन्तानको सुन्दर भविष्यका लागि कठोर पाईला चाल्ने शाहसिक यात्री पनि हुन । जुन यात्रा देशका शासकहरू इमान्दार नहुँदा हिजो पूर्खाले पनि बाध्य भएर चाले आज हाम्रो पिंढिले पनि चाल्दै छन् । यो इच्छा होइन नेपालिहरूका छोराछोरिको लागी बाध्यता हो । यो पुस्ता भविष्यको लागि देश त छोड्छ तर आफ्नो भविष्यको साथ साथै आफुलाई पलपलमा पु:न देशसँग आफूलाई जोडिरहन्छन् । त्यसको ज्वलन्त उदाहरण रात,दिन काम गरेर विदेशी भूमिमा रगत,पसिना बगाएर नसुती,नखाई र भ्याई,नभ्याई कमाएको पैसा पेट काटेर आफ्नो देशमा बाबा-आमा ,श्रीमति छोराछोरी ,चाडपर्व, ईष्टमित्र आदि इत्यदिको लागी निरन्तर पैसा पठाई रहन्छन् । पल पल समृद्दिको ढोका खोलिरहन्छ ।

अझ सन् २०१८ लाई हेर्ने हो भने त अमेरिका बाट मात्र १७२ अरब पैसा रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको छ । एनआरएनहरूले संयुक्त वा एकल लगानी गरेको रकम जोड्ने हो भने यो योगदानको हिस्सा अझै ठूलै हुन्छ । त्यती मात्रै कहाँ हो र बाढी ,पहिरो,भूकम्प जस्ता दु:ख दर्दमा देश दुख्दा गहभरी आँसु बोकेर गर्दै गरेको काम,खाँदै गरेको गाँस , आँगालोमा बेरिरहेको जहान परिवार,कागज पत्र,बर्षौ वर्षको कमाई ,चान पहिचान,सबै सबै छोडेर देशको दु:खमा मलम लगाउन दौडन्छन् प्रवासी नेपालीहरू । त्यो कुरा त्यहीं बस्ने बाबा आमालाई समेत कहिले पत्तै हुँदैन । कहिले यिनै एनआरएन बाढिले डुबाएको तराईमा छाम्न पुग्छन् त कहिले भूमरीको चपेटामा मलम लगाउन पुग्छ, । कहिले स”पहाडमा पहिरोले दु:खेको घाऊमा मलम लगाउन पुग्छन् त कहिले हिमालको दु:खमा सहायता बाँड्न पुग्छन् । बिध्यालय , पुस्तकालय खेलकुद आदि ईत्यादिमा भएका सहयोग त यहाँ बर्णन गरि साध्यै छैन ।
आज देशको गति,देशको अर्थतन्त्र अर्थात श्वासप्रस्वास नै रेमिट्यान्सले धानेको छ । एनआरएन सन् २००३ मा यूरोपमा जन्मदै गर्दा भोलीको हाम्रो देश ,भोलीको हाम्रो समाज ,भोलीको हाम्रो भविष्य उन्नत बाटोमा लम्काउन संसारमा छरिएर रहेका नेपालीका सिप,कला,पैसा,बुद्धी र बललाई एउटै ठाउँमा ल्याएर बलियो , समृद्द नेपाली समाजको सृजना गर्नु पर्छ भन्ने उद्देश्यले नै यो संस्था स्थापित भएको हो । अव त्यो दिन आउन धेरै टाढा छैन् । बीर गोर्खाली,भगवान बुद्ध,माता सीता,राजा जनक,संसारकै उच्च शिखर सगरमाथा र व्यासको तपोभूमीको देशलाई यिनैको कृपाले पनि एक दिन जुरूक्क उठाउने छ । संसार भरका एनआरएनको बुद्धिजिवि भेलाले पनि यसको संकेत दिईसकेको छ ।
प्रत्येक दुई वर्षमा नेपालमा हुने एनआरएनको भेलाले प्रत्येक वर्ष एउटा न्यानो आभाष हामी सबै माझ दिईरहन्छ । हामी तिम्रै काखमा छौ आमा, हरपल हाम्रो मन तिम्रै चिन्तामा,तिम्रै मायामा डुबिरहन्छ । हाम्रो भौतिक शरिर मात्रै बिदेशको भूमिमा रोबोट जस्तै भएर चलिराखे पनि मन मतिष्क भने गाऊँ घर तिरै दौडी रहेको हुन्छ । रात दिन काममा मात्र दौडाएर पनि ऊ रित्तै छ । ऊसले आफ्नो तन ,मन र धन देशलाई नै दिन्छ तर उसको छाती बिशाल छ, किनकि उसले आफ्नो छातीमा सँधै देश बोकेको छ र हिंडेको पनि छ ।

कहाँ सजिलो छ र प्रबासको जिन्दगी घरको भाडा,औषधि उपचार,बिजुली बत्ती,बिमा , गाडीको किस्ता ,लत्ताकपडा,लन्ड्री,खाना,नास्ता,फोन,कम्पुटर,एसी,हिटर लगायत अनगिन्ती बिलहरू सँग पौठे जोरि खोज्नु पर्ने दैनिकि । घरपरिवार बाट एक्लो भएर सुस्ताई रहनु पर्ने जिन्दगी । यहाँ बिरामी भए पनि सन्चै छु भन्ने बहाना बनाउनु पर्ने बाध्यता । कति कति हुन कति चुनौति र संघर्षका चाड्ग ।

त्यसका बाबजुद पनि देश देखि प्रदेश सम्म प्रत्येक नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न एनआरएनले गरेको छ । सक्नेले पटक पटक देशमा गएर सहयोग गरेको छ भने नसक्नेले बर्ष भरिको मेहनतको पैसा आफ्ना अनगिन्ती आवश्यकतालाई थाँती राखेर पेट काटेर पनि वर्षको एक पटक कसैलाई उपहार लगेको छ भने कसैलाई सर सापट सहयोग गरेर पनि देशमा बिदेशी पैसा भित्र्याउने काम गरेको छ ।

जुन देशमा ऊ बस्छ,बिहान जुरूक्क उठेर उसले काममा जानु पर्ने बाटो जाम भएको छ कि छैन भन्ने उसले त्यो कहिल्यै सोच्दैन र हेर्दैन पनि । बरु बिहान उठ्ना साथ कान्तिपुर,अन्नपूर्ण लगायत सम्पूर्ण समाचार हेर्छ,सुन्छ र देशको सुखद समाचार खोज्छ । देशको दु:खद समचार बाट सबै भन्दा बढी दु:खी प्रवासी नेपाली नै बन्छ । कतिलाई थाह छैन होला “ देश देश भित्र भन्दा प्रवासमा बढि दुख्छ “। किनभने उसको तन,मन , धन र सपना सँधै देशमै छ । ऊ देशवाट दुरीको हिसावले जति टाढा हुन्छ । भूगोलको हिसावले जति दुर भए पनि भावनाको हिसावले उसले सिंगो देश सँधै छातीमा नै बोकेको हुन्छ । मातृभुमिकै पीडा र मायाले त एनआरएनए जन्मेको हो ।

त्यो दिन अव धेरै टाढा छैन् । नेपालीले बिदेश आएर सिकेको सीप,आर्जन गरेको ज्ञान,दु:ख गरेर कमाएको धनले अन्तमा देशकै उन्नति हुने हो । त्यो दिनमा हाम्रो देशको प्रगतिले पनि आकाश चुम्न सक्छ । अबको हाम्रो दोस्रो पुस्ताले बिकसित देशका योग्य युवाहरूकै हारहारिमा आफुलाई पनि उभ्याउँन थालिसकेका छन् । यो हाम्रो लागी निक्कै सकरात्मक र प्रेरणाको बिषय हो ।भोलि नेपाल सरकारले यो ज्ञान र सिपको अधिकतम सदुपयोग गर्न सक्यो भने देशको मुहार फेरिन सक्छ । दोस्रो हाम्रो संस्कार,हाम्रो भाषा,हाम्रो परम्परालाई जोगाउँदै दोस्रो पुस्ताले टेक्नोलोजी, नयाँ आविष्कार , ब्यापार , सीप र ज्ञानको भण्डार बोकेर देशलाई त्यसको उर्जा दिन फर्कियो भने यो इच्छा शक्ति र चाहनाले देशको काँचुली फेर्न धेरै समय नलाग्न सक्छ ।

एनआरएनहरूले आफ्नै कमाई,आफ्नै मेहनत,आफ्नै परिश्रम , आफ्नै लगानि , आफ्नै बलबुताले नै हो यति सम्म गर्न सकेका । न त उनीहरूले त्यस वापत तलव पाउँछन् न त कुनै मानसम्मान नै । जस्ले तलव र भत्ता लिएर केही गर्नुपर्ने हो ऊ पनि इमान्दार भइदिने हो भने सुनमा सुगन्ध हुने थियो । मलाई आश छ छाती भरी देश बोक्नेहरूले संसारको जुनसुकै कुनमा पुगेर ज्ञान , बिज्ञान , धन र इज्जतको लागी अहिले जस्तो सुकै युद्द लडे पनि , संघर्ष गरे पनि खालि त्यो नेपालको लागी नै हो । तसर्थ एकले थुकी सुकी सयले थुकी बगि भन्ने उखान हाम्रो समाजमा त्यसै चरितार्थ भएको होइन । समुन्नत समाज र देश निर्माणको लागी संसारभरका नेपालीहरूले हातेमालो गर्यौ भने हाम्रो अगाडी असंम्भव भन्ने अव शब्द रहँदैन । खालि अव हामी एकजुट भएर केही गरौ भन्ने इच्छा शक्ति र सकरात्मक सोचको मात्र खाँचो छ ।

( यस लेखका लेखक सर्वज्ञ वाग्ले आसन्न एनआरएन अमेरिकाको निर्बाचनका क्षेत्रिय उपाध्यक्षका उमेदवार हुनुहुन्छ )


१८ बैशाख २०७६, बुधबार ०५:४१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....