सुनसान सङ्क्राम

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०६:१५

– रीता लामा

घोराही, शान्ति सम्झौतापछि विसं २०६४ मङ्सिर २५ गते तुलसीपुर उपमहानगरपालिका–१९ सङ्क्राममा दीर्घ स्मृति ब्रिगेडअन्तर्गतका तीन बटालियनसहितको दुई हजार जनमुक्ति सेना बस्न थाले ।

सेना समायोजनपछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा दश बिघा क्षेत्रफलमा फैलिएको तत्कालीन माओवादी शिविर संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ फागुन २७ गतेदेखि खटियो । तर यही फागुन १ गतेदेखि सशस्त्र प्रहरी बस्न छाडेपछि हाल उक्त ब्यारेक अलपत्र बनेको छ । अहिले ब्यारेकमा कोही पनि छैनन् । सुनसान जस्तै छ ।

ब्यारेकमा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर मोहन नेपाली ‘उज्ज्वल’ भेटिनुभयो । उहाँ जीर्ण संरचना हेर्दै हुनुहुन्थ्यो । सेना समायोजनपछि स्वेच्छिक अवकाशमा निस्किनुभएका पूर्वकमाण्डर नेपालीले आफैँले बनाएको घर, छाएको छानो र पोतेका आँगन अहिले बेहाल बन्दा दुःख लाग्ने गरेको बताउनुभयो । उहाँ त्यहाँको स्थानीयवासी पनि हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “न संरचना राम्रा छन्, न सेना छन् । अहिले ब्यारेक नाममा मात्रै सीमित छ ।” संरक्षण हुन नसक्दा राज्यको करोडौँ लगानी नोक्सानी भइरहेको उहाँले बताउनुभयो । यसको संरक्षण र विकास गर्न सके जनमुक्ति सेना ब्यारेकलाई एक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

राज्यले युद्धका नामबाट स्थापित यस्ता सम्पत्ति संरक्षण र व्यवस्थापन गर्न नसक्दा दशवर्षे युद्धका निशानी मेटिन थालेको उहाँको कथन छ । नेपालीले भन्नुभयो, “कैयौँ समायोजनमा गए, कैयौँ बाहिरिए तर सम्पत्ति जोगाउन राज्यले सक्छ नि ! तर त्यसतर्फ ध्यान दिन नसक्दा यस्ता थुप्रै ब्यारेक बेवारिसे बनिरहेका छन् ।”

भौगोलिक, भौतिक, सेवासुविधा र सुरक्षाका हिसाबले निकै उपयुक्त रहेकाले राज्यले ब्यारेकको व्यवस्थापन गर्न अति जरुरी रहेको छ । प्रशस्तै खेल मैदान, सैन्य अभ्यास मैदान, उपयुक्त भौतिक संरचना, खानेपानी, बिजुलीलगायतका संरचना तयार रहेकाले राज्यले कुनै सुरक्षा संयन्त्रलाई ब्यारेकमा राख्न सक्नुपर्ने उहाँको भनाइ छ ।

विसं २०६४ मङ्सिर २५ गतेदेखि करीब दुई हजार बढीको बसोबाससहित शुरु भएको ब्यारेकलाई अहिले गाउँलेले चौकीदारी गर्ने अवस्थामा पुगेको छ । जनमुक्ति सेना समायोजनपछि सशस्त्र प्रहरी बस्दै आइरहेको उक्त ब्यारेक फागुन १ गतेदेखि सशस्त्र प्रहरीले बस्न छोड्दा गाउँले पहरामा जुटेको स्थानीयवासी विभीषण रोकाले बताउनुभयो ।

ब्यारेकभित्र रहेका संरचना संरक्षणका लागि गाउँलेले महीनावारी पैसा उठाउँदै तीन चौकीदारसहित सुरक्षा दिन थालेको उहाँको भनाइ छ । “राज्यले संरक्षण गर्न छोड्यो, भएका संरचना जोगाउन गाउँले कस्सिएका छौँ”, उहाँले भन्नुभयो, “काठपात, ढुङ्गा इँटा, टिन, पाइपलगायतका सरसामान हराउन सक्ने भन्दै गाउँले उक्त ब्यारेकको सुरक्षामा खटिएको छ ।”

जनमुक्ति सेना ब्यारेकमा करौडौँ बढीको लगानी लागिसकेकाले राज्यले यसलाई विस्थापितभन्दा व्यवस्थित गराउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो ।

तुलसीपुरलाई जिम्मा

ब्यारेकको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल ज्वालामाई गणले ब्यारेकको सम्पूर्ण संरचना उल्लेख गर्दै गत माघ २८ गते तुलसीपुर उमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाल सशस्त्र प्रहरी र उमहानगरपालिकाबीच भएको द्विपक्षीय हस्ताक्षरसहितको पत्रमा जस्ताका छाना भएको इँटाका घर ३१ छन् जसमा तीन वटाको झ्यालढोका केही छैनन् ।

एउटा भत्किएकोसहित जस्ताको छाना भएको ढुङ्गामाटोका चार घर छन् । जस्ताका छ घर, छानो नभएको ‘डिसमेन्टल’ दुई घर छन् । ढोका नभएका पक्की शौचालय १३ छन् । जस्ताका शौचालय पाँच, काठको घर एक, ड्युटीपोष्ट १२, पक्की पानी ट्याङ्ककी पाँच, धारा आठ, रिजर्व ट्याङ्की एक, प्रवेशद्वार एक र ग्यारेज एक रहेका छन् ।

राष्ट्रिय क्रान्ति सङ्ग्रहालय बनाइने

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तत्कालीन माओवादी सेनाको ब्यारेक सङ्क्रामलाई राष्ट्रिय क्रान्ति सङ्ग्रहालयका रूपमा विकास गर्ने तयारी भइरहेको बताउनुभयो । युद्ध अध्ययन, युद्ध पर्यटन, ऐतिहासिक युद्धस्थलका रूपमा तत्कालीन ब्यारेकलाई सङ्ग्रहालयका रूपमा पुनःनिर्माण गर्ने उहाँको भनाइ थियो ।(रासस)


५ चैत्र २०७५, मंगलवार ०६:१५ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....