जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

नरेन्द्रसिंह कार्की, दार्चुला, १७ फागुन (रासस): दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।
सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।
१७ फाल्गुन २०७५, शुक्रबार १९:०७ मा प्रकाशित