कुटनीति, नेपाल र विश्वपरिवेश

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार १७:१९

 

विकास थापा
हेरिसबर्ग ,अमेरिका

नेपालले आजसम्म आफ्नो सार्वभौमसत्ता जोगाइराख्न सक्नुका प्रमुख कारणहरू मध्ये तेस्रो तथा शक्तिशाली देशहरूसँगको सुमधुर कुटनीतिक सबन्ध पनि एक हो । तर विडम्बना पछिल्ला केही दशकहरूमा नेपालले विश्वसामु देखाएको आफ्नो कुटनीतिक क्षमता र अपरिपक्वता भने देशको लागि नै लज्जा र चिन्ताको विषय बनेको छ । विशेष गरी प्रचण्ड नेपालको राजनीतिको केन्द्रविन्दुमा आएपछि नेपालको कुटनीतिक क्षेत्र पटक पटक धरसायी बनिरहेको छ । पहिलो त प्रचण्डलाई अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान त होला तर अनुभव कम छ । अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान र अनुभव भनेको आकाश जमिनको फरक हो । जंगली राजनीति, हत्याहिंसाको माध्यमबाट नेपालको राजनीतिमा उदाएका प्रचण्ड देशभित्र त धूर्त र चलाख राजनीति खेल खेल्न खप्पिस भए पनि अन्तर्राष्ट्रिय मामिलामा निक्कै कच्चा र बच्चा सावित हुँदै आइरहेका छन् । त्यसैको निरन्तरता मध्येको एक हो भेनेजुयलाको राजनीतिक संकटमाथिको प्रचण्डको टिप्पणी । एक जिम्मेवार नेताले एक कुटनीतिक आचरणको पटक्कै ख्याल नगरी कहिले मित्र राष्ट्र भारत विरूद्ध त कहिले मित्र राष्ट्र अमेरिका विरूद्ध यस्ता गैर जिम्मेवार अभिव्यक्तिहरू पटक पटक दिँदै आएका छन् । यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले गर्दा प्रचण्ड नेताबाट राजनेतामा कहिल्यै उक्लन सकेनन् । उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो कमजोरी भनेकै यही हो । प्रचण्डको यस्तो चरित्रले गर्दा बाहिरी जगत्ले नेपालको परराष्ट्र नीतिमा शंकाको नजरले हेर्न थाले । जसले नेपालको अहित गर्नुको साथै नेपाललाई अनावश्यक द्वन्द्वको रंगमन्चमा उतारिएको छ ।

त्यस्तै अपरिपक्व कुटनीतिक क्षमतालाई आधार मानेर भेनेजुयलाको राजनीतिक संकटमाथि नेपालको वर्तमान बामपन्थी सरकारको देखाएको अहिलेको कुटनीतिक रवैया र नेपालको पराराष्ट्र मन्त्रालयले केही समय अगाडि इन्डोनेसियामा प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएकाहरूलाई दिएको बधाई वक्तव्य यस्तै चरम लापरबाहीको एउटा उदाहरण हो । अन्य देशमा हुन्थ्यो भने यही घटनाले पराराष्ट्रमन्त्रीले नैतिककताको आधारमा राजीनामा दिइसकेका हुने थिए वा सार्वजनिक रुपमा माफी माग्ने थिए । यो विषय पनि परराष्ट्र मन्त्रालयले आलटाल, गल्ती नगरेझैँ गर्यो र जसोतसो आफ्नो लाज पचायो । राज्यको एउटा जिम्मेवार मन्त्रालयले आफ्नो मित्र राष्ट्रको दुःखमा व्यक्त गर्नुपर्ने समवेदना बधाई बन्न पुग्यो । अन्तर्राष्ट्रिय सम्बन्धमा यस्ता विषयवस्तु निक्कै संवेदनशील मानिन्छ तर नेपालमा भने दुई चार दिन मजाकको विषय बन्यो । वर्तमान सन्दर्भमा सरकारका हरेक वाक्य, शब्द र कुटनीतिक दृष्टिकोणहरू यति कृत्रिम, ढाकछोप र आवरणयुक्त हुनु हुँदैन । अनावश्यक हठ र स्वप्निल महत्वाकांक्षाले नेपालको कुटनीतिक क्षेत्र अभिसप्त र अयथार्थतिर डोरिँदै गएर नैतिकताको संकटमा कदापी पर्नु हुँदैन भन्ने तीन करोड नेपालीहरूको साझा धारणा हो भनी बुझ्न पनि जरुरी छ ।

भेनेजुयला र नेपालको भौगोलिक परिस्थिति निक्कै भिन्न छ । भेनेजुयला तेलमा निक्कै धनी राष्ट्र हो र नेपाल जस्तो भूपरिवेष्ठित देश पनि होइन । भेनेजुयला आफ्नो भौगोलिक परिस्थिति अनुसार जसरी पनि चल्न सक्छ । भेनेजुयलामाथि प्रत्येक राष्ट्रकका आआफ्ना स्वर्थ छन् । हाम्रा छिमेकी दुवै देश भारत र चीनलाई त्यहाँबाट आउने कच्चा तेलको चिन्ता छ । यदि त्यहाँ राजनीतिक अस्थिरता भयो र त्यहाँबाट आउने तेलको मात्र घट्यो भने दुवै देशको अर्थतन्त्रमा गम्भीर असर पर्छ । त्यसको लागि पनि हाम्रा छिमेकी देश त्यहाँको राजनीति संकटसँग सशंकित छन् । तसर्थ उनीहरूले आआफ्ना स्वार्थ अनुसारको धारणा बनाउनु स्वाभाविक हो तर नेपाल यो मामिलाबाट टाढै रहनु नेपालको हितमा थियो । नेपाललाई त्यो गर्ने छुट नेपालको भौगोलिक अवस्थाले पनि दिँदैन । जन्मने नेपालमा, राजनीति गर्ने नेपालको तर विश्वसँग क्यूबा र भेनेजुयलाका बामपन्थीहरूको जस्तो कुटनीतिक आचरण देखाएर नेपाल विकसित हुँदैन । उत्तर कोरिया, भेनेजुयला र क्युवाको जस्तो बामपन्थी नेता बन्न खोज्नु नेपालका बामपन्थीहरूको सबैभन्दा ठूलो अज्ञानता हो । सबैभन्दा ठूलो  मूर्खता पनि । यो धेरै जान्ने सुन्ने छु भन्ने एक प्रकारको आत्मरति पनि हो । नेपालको भौगोलिक परिस्थिति, मूल्यमान्यता, विश्वमा आफ्नो उपस्थिति, राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमा देशको पराराष्ट्र नीति सदैव निर्देशित हुन जरुरी छ । नेपालका बामपन्थीहरूले यो राम्रोसँग बुझेनन् या त बुझ पचाइरहेका छन् या आत्मसात गर्न सकेका छैनन् । देश सधैँ रहन्छ । पार्टी ,सरकार र दुई तिहाई सधैँ रहँदैन । यो कुरा ख्याल गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उखान, टुक्का र धूत्र्याइले काम गर्दैन । अर्को कुरा कुनै पनि पार्टीको एकल पार्टीगत सोचका आधारमा देशको परराष्ट्रनीति कदापि अगाडि बढ्न सक्दैन ।

कुटनीति र परराष्ट्र नीति भनेको सधैँ सन्तुलित विवेकले निर्दे्िशत हुन जरुरी छ । यो कसैको व्यक्तिगत लहडमा खेलिने स्वार्थको बाघचाल पनि होइन । विवेकपूर्ण, सन्तुलित कुटनीति र परराष्ट्र नीतिले आफ्नो देशको हित र स्वार्थको लागि असम्भवलाई पनि सम्भव बनाउने ल्याकत र तागत राख्नु पर्छ । नेपालले पटक पटक तेस्रो विश्वसँग यस्तै अमर्यादित, असन्तुलित, विवादास्पद कुटनीतिक भाषा प्रयोग गर्दै गयो भने विश्व समुदायबाट कुनै दिन नेपाल उत्तर कोरियाजस्तै एक्लिन सक्छ । नेपालको परराष्ट्र नीतिलाई उत्तर कोरियाली बाटोतिर लैजान नेपालको बामपन्थी सरकार अग्रसर भएको हो भने भोलिका दिनमा यो नेपालको सबैभन्दा ठूलो दुर्भाग्य बन्न सक्छ । विश्व कुटनीतिक भाषामा देश यस्तो अवस्थामा पुग्नु भनेको निक्कै डरलाग्दो अवस्था हो । यस्तो अवस्था आयो भने नेपालको परराष्ट्र नीति भारत र चीनको पोल्टामा पुग्न सक्छ । जस्तो कि उत्तर कोरियाको पछिल्ला अन्तर्राष्ट्रिय सम्बन्धमा चीनको निर्देशन हावी बन्दै आएको छ । भारत भुटानको त थप व्याख्या गर्न जरुरत छैन संसारलाई थाहा छ । विश्व समुदायमा नेपालको परराष्ट्र नीति भनेको उत्तर कोरिया वा भूटान  बन्नु त अवश्य पनि होइन । उसो हो भने बामपन्थी सरकार किन पटक पटक आफ्नो राष्ट्रिय स्वार्थअनुसारको सन्तुलित कुटनीति व्यवहार प्रदर्शन गर्न चुक्छ ? यो सरकारमाथि गम्भीर प्रश्न यहाँ तेर्सिएको छ । त्यसमाथि पनि अमेरिकाजस्तो विश्व महाशक्ति राष्ट्रसँग नेपालले सन्तुलित र सुमधुर कुटनीति सम्बन्ध बनाउन जरुरी छ । यो सबैलाई थाहा छ र पनि सरकार आफ्नै घमण्डले चुक्दै छ । यसको अर्थ महाशक्ति राष्ट्र भन्दैमा नेपालले उसका सबै दवाव मान्नु पर्छ भन्ने पनि होइन । दोस्रो कुनै पनि छिमेकीको उक्साहट, आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ, मानसिक विचलन, मानसिक असन्तुष्टिका तरंगमा तैरिएर वक्तव्यहरू दिनु र समस्त देशको परराष्ट्र नीतिलाई नै विवादित बनाउने अधिकार कसैमा नीहित हुँदैन । कुनै पनि देश केही एक दुई जना व्यक्तिको ब्याक्तिगत लहड, सनक र मानसिक असन्तुलनमा चल्न सक्दैन र चल्नु पनि हुँदैन । यदि उचित पराराष्ट्र नीति अंगीकार गर्न सकिँदैन, सन्तुलित ढंगगले देश चलाउने क्षमता, ल्याकत छैन भने राजनीतिबाट सन्यास लिनु सबैभन्दा उचित र उत्तम विकल्प हो । यसले देशको लागि राम्रो गर्छ । होइन भने सरकार मानसिक विचलनमा आएर बर्बराउन छोड्नु पर्छ । विश्व जगत्लाई आफ्नो कुटनीतिक क्षमता र चातुर्य देखाउन सक्नु पर्छ । पटक पटक गल्ती गर्ने छुट कसैमा छैन ।

यदि अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारको आधिकारिक धारणा माग नै गरिहाले पनि कुटनीतिक तथा नरम भाषामा एक सार्वभौम मुलुकको सार्वभौमिकताको पनि सम्मान हुने र आफ्नो अन्य देशसँगको कुटनीतिक सबन्ध पनि नबिग्रने “सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने“  विज्ञप्ति जारी गर्न सकिने थियो । प्रचण्डको विज्ञप्ति उहाँको व्यक्तिगत र नीजि विज्ञप्ति हो । सरकारको आधिकारिक धारणा यो हो भन्ने अवसर र ठाउँ हुँदाहुँदै पनि त्यस विषयमा कुनै संवेदनशीलता नदेखाई, बामपन्थी सरकारले प्रचण्डको विज्ञप्तिलाई नै लालमोहर लगाइदियो । यस्तै गल्तीहरू गर्दै र यस्तै दम्भ पाल्दै यो अगाडि बढ्यो भने यो सरकारले उत्तर कोरियाली बाटो चाँडै नै तय गर्ने छ । यसरी नै भोलिका दिनमा पनि बामपन्थी सरकारले यस्तो रवैयालाई निरन्तरता दिँदै गयो भने अन्तर्राष्ट्रिय  क्षेत्रमा नेपाल उत्तर कोरियाजस्तै एक्लिन सक्छ । भोली उत्तर कोरियाजस्तै चीनको कठपुतली नेपाललाई यिनले बनाउँदैनन् भन्न सकिँदैन ।

नेपालका बामपन्थीहरूमा अचम्मको एउटा बामपन्थी फोविया छ । उक्त बामपन्थी फोवियाले सिंगो क्रिमिया निल्ने रसिया कहिल्यै साम्राज्यवादी देख्दैन । हाम्रै छिमेकी देश तिब्बत जो नेपालभन्दा कयौ गुणा ठूलो देश थियो त्यसलाई निल्ने चीन कहिल्यै साम्राज्यवादी बनेन । अरू बाँकी सबै साम्राज्यवादी र पुँजीवादी बने । यस्तो एकतर्फी सोच, संकुचित हठ र धारणा बोकेको नीति देशको परराष्ट्रनीति बन्न थाल्यो भने, यसैबाट निर्देशित भएर सरकारका धारणाहरू बाहिर आउन थाले भने नेपालको तेस्रो विश्वसँगको सम्बन्ध अब पाँच वर्षपछि कस्तो बन्ला ? सरकार त परिवर्तन भइरहन्छ तर देशले बनाउने पराराष्ट्रनीति न त प्रचण्डको हजार मुखे जिब्रो जस्तो हुन्छ न त उखान टुक्का भनेजस्तो । अझै पनि  परराष्ट्र नीति बनाउँदा आफ्नो पार्टीको दृष्टिकोणभन्दा माथि उठ्न सकेनन् भने बाहिरी विश्वसँग यिनले कस्तो कुटनीतिक क्षमता प्रर्दशन गर्लान्, कस्तो प्रभाव जमाउलान ? कुटनीति सम्बन्ध भोलि आफुले चाहेर मात्र, आफूलाई आवश्यक प¥यो भन्दैमा आफ्नो एकल जोरबलले रातरात स्थापित हुने पनि होइन । निरन्तर सन्तुलित र विश्वासको वातावरण नबनाई कसरी कूटनीति सम्बन्ध विस्तार होला ? यति भन्दै गर्दा सरकारका प्रत्येक भनाइहरू तर्कसंगत, सशक्त र जनवादीजस्ता त देखिन्छन् तर यथार्थको बहसमा भने सधैँ पराजित हुन पुग्छन् । सरकारले प्रस्तुत गरेका अन्तर्राष्ट्रिय कुटनीति र मार्गदर्शनहरू एकपक्षीय र एकांकी बालहठबाटै प्रेरित हुन् त !

अर्को कुरा अमेरिका नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको मुलुक मात्र होइन । छिमेकीको नाताले भारत र चीन । पुरानो सम्बन्धले गर्दा बेलायतपछि जनस्तरमा सबैभन्दा राम्रो र मजबुत सम्बन्ध स्थापित भएको मुलक हो अमेरिका । दोस्रो विश्वयुद्धको समाप्तिपछि नेपालले सन् १९४७ अप्रिल २५ मा नै अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापित गरेर विश्वमा नै एक सार्वभौम पुरानो देशको रुपमा आफ्नो उपस्थिति मजबुत पारिसकेको थियो । हाल आएर अमेरिकामा लगभग तीन लाखको हारहारीमा नेपाली र चार लाखको हारहारीमा नेपाली भाषीहरू बसोबास गरिरहेका छन् । अमेरिकाले नेपालको हरेक कुरामा आफुले सक्दो साथ र सहयोग दिँदै आइरहेको छ । धेरै अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाले नेपाललाई दिल खोलेर सहयोग गरेको छ । भेनेजुयलाको राजनीतिक संकटको विषयलाई लिएर नेपालले चासो र चिन्ता लिनु मानवीय र एक सार्वभौम मुलुकको नाताले स्वाभाविक थियो तर त्यहाँ सबै शक्तिराष्ट्रले आआफ्ना स्वार्थका डमरु बजाएका छन् । कुनै पनि देशले त्यहाँको आन्तरिक मामिलामा गरेको हस्तक्षेप नेपाललाई मान्य नहुने भनी नेपाल आफ्नो पन्चशीलको सिद्धान्त टेकेर तटस्थ बस्नु थियो । नेपालले रसिया, चीनलगायत देशको गरेको हस्तक्षेप ठिक र अन्य राष्ट्रले गरेको बेठिक भन्ने जुन वक्तव्य जारी ग¥यो त्यो नै पन्चशीलको मर्म विपरीत छ । तटस्थ छैन । जसले नेपाललाई भोलिको दिनमा विश्व बामपन्थी क्लवतिर धकेलिदिन सक्छ । यसले नेपाललाई अन्तराष्ट्रिय तारोको भूमरीमा पारिदिन सक्छ । यस विषयमा नेपालले आफ्नो भौगोलिक संवेदनशीलतालाई पटक पटक ख्याल गर्न जरुरी छ ।

नेपालीहरू अमेरिका आउन थालेको २५/३० वर्ष भयो । यति छोटो समयमा अध्ययन, अध्यापन, आईटी, व्यापारलगायत विभिन्न क्षेत्रमा अमेरिकामा नेपालीहरूले राम्रो उन्नति गरिसकेका छन् । अर्को कुरा अमेरिकामा बसेका नेपालीहरूको आर्थिक समृद्धिसँगै अमेरिकाबाट नेपाल जाने रेमिट्यान्समा उल्लेख्य वृद्धि भइसकेको छ । अहिले नेपालमा धेरै रेमिट्यान्स जाने मुख्य पाँच देशमा अमेरिका पनि पर्छ । अबको पाँच वर्षभित्र अमेरिकाबाट नेपाल जाने रेमिट्यान्समा अझै उल्लेख्य वृद्धि हुन सक्छ । यो सरकार आफ्नो खुट्टामा आफैँ किन बन्चरो हान्दै छ । त्यो अर्को कौतुहलताको विषय बनेको छ । अझ नेपाली भाषीहरूको बाक्लो जनसंख्या भएको कतिपय राज्यहरूमा नेपाली भाषालाई ती स्टेटहरूले मान्यता पनि दिइसकेका छन् । तसर्थ अमेरिकासँग नेपालको सम्बन्ध कुटनीति तवरले मात्र अब स्थापित छैन जनस्तरको सम्बन्ध निक्कै मजबुत बनिसकेको छ । भारतले दिनहुँ सिमाना मिच्दा चुँ नबोल्ने प्रचण्डको नेपालको आइनो न साइनोको देश भेनेजुयलाको राजननीतिक संकटमा चीन र रसियाकै हारहारीको जनवरी २५ को विज्ञप्ति किन र के लागि ? कुटनीतिक वृत्तमा यसको संकेत के र यसको परिणाम के हुन्छ ? अहिलेको बामपन्थि सरकारसँग कुनै उत्तर छ ? छैन ।

नेपालको परराष्ट्र नीति असंलग्न हो । शीतयुद्धको समाप्तिपछि अहिलेको विश्व फेरि दुई ध्रुवतिर विभाजन हुन थालिसकेको छ । रसियाले हतियारको दम्भले बढाउँदै लगेको अन्तर्राष्ट्रिय प्रभाव र चीनको अमेरिकासँगको व्यापार युद्ध । चीन र रसियाबीच बाक्लिदै गएको सम्बन्ध । युरोपियन युनियन र रसिया बीचको टकरावले फेरि संसारमा ध्रुवीकरण बढ्न सक्दैन भन्न सकिँदैन । भारत चीन सम्बन्धले पनि नेपालमा ठूलो हलचल ल्याउन सक्छ । यस्तो अवस्थामा नेपालजस्तो सानो मुलुकले आफ्नो राष्ट्रिय हित र स्वार्थको लागि कुटनीतिक चातुर्य देखाउन सक्नु पर्छ र सबै देशसँग आफ्नो सबन्ध बिस्तार गर्नु नै नेपालको हितमा छ । नेपाल फेरि पनि कुनै संगठनतिर ध्रुवीकृत हुनु उपयुक्त छैन । यस्तै अमर्यादित कुटनीतिक आचरणले गर्दा भोलि नेपाल शक्ति राष्ट्रहरूको तारो बन्न पुग्यो भने नेपालको भू राजनीतिक अवस्था नेपालले त्यो भोलिका दिनमा धान्न सक्दैन । राजनीतिक अस्थिरता र भर्खर द्वन्द्वबाट माथि उठन लागेको देशले आफ्ना मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध राखेर आफ्नो विकासमा ध्यान केन्द्रित गर्न जरुरी छ । यतिमा कुटनीतिको गहिराइसम्म पुगेर सबै कुरा व्याख्या गर्न गाह्रो छ तर संकेत आधार भने प्रष्ट छन् । दुईतिहाईको आत्मरतिले सरकार सही बाटोमा हिँड्न सकेको छैन तर अभिनय भने दौडिरहेको गरिरहेछ । यो जनता र देशमाथि सत्ताको लागि गरिएको सबैंभन्दा ठूलो गद्दारी बन्न सक्छ ।


४ फाल्गुन २०७५, शनिबार १७:१९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....