एनआरएनए अमेरिकाको भावि गन्तव्य र चुनौती

सर्बज्ञ वाग्ले
गैर आवासीय नेपाली संघ आज भन्दा १७ वर्ष अगाडि संसारभर छरिएका नेपालीहरूलाई एउटै छातामुनी संगठित गर्ने उदेश्यले स्थापना भएको संस्था हो। शिक्षित नेपाली युवाहरू आफ्नो देशमा अत्याधुनिक टेक्नोलजी र उच्च शिक्षा हासिल गर्न, नयाँ संम्भावना र अवसरका ढोकाहरू ढक्ढक्याउन संसारका विभिन्न देशमा जान थाले।
साँच्चै भन्ने हो भने संसार भरी नै गोर्खा, सेर्पा, हिमाल र बुद्ध तथा देवी देवताको नामले प्रख्यात नेपालीलाई मन नपराउने देशै छैन्। त्यसरीनै नयाँ नयाँ अवसरहरूको खोजी र सदुपयोग गरेर संसार भर छरिएका नेपालीहरूलाई आज एउटै थलोमा उभ्याउने जमर्को र सम्पर्क सुत्रको दरिलो माध्यम तथा संगठित संस्था बनेको छ गैर आवासीय संघ।
जब नेपालमा द्वन्दको आगो धपक्क बल्यो तव बलिया, सामर्थवान, पैसावाल धनी मानी भन्दा पनि निर्धा र निर्दोषहरू नै द्वन्द्धको मारमा बढी परे। देशमा चलिरहेका बिभिन्न उद्योग घन्दाहरू एक पछि अर्कों गर्दै लगातार बन्द गराईन थालिए।
यसको राप र तापले कसैलाई छोडेन। राजादेखि रॉक सम्म सबैको घर आँगनमा हत्या, हिंसा र आन्दोलनको कालो बादल मडारियो। भगवान बुद्ध राजा जनक र बीर गोर्खालीका सन्तानहरू आफ्ना पाखुराका बल जीवनका सुन्दर पलमा गैचा, फरूवा र हँसिया मात्रै चलाउन बेचिएनन् १८० को डिग्रीमा दन्केको आगो रूपी ज्वालामुखी मा ह्वात्तै हाम्फाल्न बाध्य र बिबश पनि भए।
त्यतिमात्रै कहाँ हो र पढे लेखेका शिक्षित युवाहरू आफ्ना शैक्षिक प्रमाण पत्र बोकेर बिश्व बजारसम्म अनलाईन मार्फत सिधै आफ्नो योग्यताको उचित कदर माग्न थाले।आज संसारमा नेपाली युवाहरूले जहाँ जहाँ टेकेका छन् त्यहाँ आफ्ना पौरखले आफ्नो मात्रै नाम नभई आफ्नो देश, आफ्नो समाज र पूर्खाको शानलाई पनि सगरमाथाको उचाईकै हाराहारीमा पुर्याउने निरन्तर कोसिस गरिराखेका छन्। त्यही देखेर नै सन् २००३ मा हाम्रा एनआरएनएका अभियान्ताहरूले संसारको बिभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरूलाई हौसला, प्रेरणा र एक ठाउँमा संगठित गर्न एनआरएनए खोल्नु भएको हो भन्दा अतियुक्ति नहोला।
यस्ता जोश र जाँगर भएका नेपालीहरूलाई एउटै डोरीमा बाँधेर त्यो बल वुद्धि ,पैसा तथा एकतालाई नेपाल र नेपाली सम्म सुख दुस्खमा साथ र सहयोग पुर्याउन जन्मेको एनआरएनए आज दोबाटोमा किन अलमल्ल छ ? गम्भीर प्रश्न विश्वभरका एनआरएनहरूको अगाडी तेर्सिएको छ। काम बढी गर्नु पर्ने हो की कुरा ? अझ अमेरिका जस्तो बिश्वकै शक्तिशाली मुलुकको एनआरएनको अबस्था त झन् दयनिय छ। अव यो दोष कसैमाथि थुपारेर कोहि पन्छिन मिल्दैन र पन्छिने ठाउँ पनि छैन। दोष हामिहरू सबैको हो। अब पनि हाम्रा यी यावत गल्तिहरू समयमै सुधार गरेर अगाडि बढन् ढिला गर्यौ र एनआरएनलाई राजनीति गर्ने थलो,प्रतिशोध साँध्ने मैदान पटक पटक बनायौ भने समयले पटक पटक माफ हामिलाई गर्ने छैन।
आम मानिसहरूले आफ्नो पेट काटेर, छाक काटेर पनि आपत विपत पर्दा मन खोलेर देशमा सहयोग गरेकै छन्। चाहे देशमा गएको महा–भूकम्पमा किन नहोस ? चाहे तराइको बाढी पहाडको पैह्रो सबै सबैका दुःखमा सबैले हातेमालो गरेकै छन्। तसर्थ समस्या संस्था र संस्थानमा भन्दा पनि आम नेतृत्व पंक्तिमा हो रहेछ। हामी कहाँ निर चुकि रहेका छौ ? र आशातित काम गर्न सकिराखेका छैनौ ? मैले पनि एक कार्याकाल यसमा बसेर काम गरें तर हरेक निर्णयहरूमा एक्लो र बिबश बने। केही आफ्ना ब्याक्तिगत कमजोरि पनि थिए। जुन आज म आत्माआलोचन गर्दै छु। जुन कुराहरू संस्था रहँदा पनि मैले गर्न गराउन सकिन । तै पनि मैले मिडियाको माध्यमवाट लगातार सूचना,समाचार लेख तथा आलेखहरू प्रसारण गर्ने देखि लिएर एनआरएनएका हरेक कार्यक्रममा उपस्थित भई माक्समेल फेसवुक ओएवसाईट आदिको ज़िम्मेवारी पुरा गरेकै थिएँ।
विदेशमा आएर यसरी आफनो पसिना, रगत र आँसु बगाएका वीर नेपाली युवाहरुले पठाएको रेमिट्यान्सले नै आज देशको अर्थतन्त्र चलायमान बनेको छ। यति हुँदा पनि न त सरकारले बैदेशिक रोजगारलाई सम्मानित र व्यवस्थित बनाउन सके न त एनआरएनहरूले नै । बिदेशिएका नेपालीले त्यसै पठाएका छैनन् रेमिट्यान्स।
दिन रात नसुतेर, एक मिनेट पनि फुर्सत नलिएर रात दिन घोटिएर आधा पेट खाई नखाई भ्याई नभ्याई घरमा २र४ पैसा पठाई रहेकै छन्। त्यसैले एनआरएनएले प्राण र त्राण दिईरहेको छ देशको अर्थ तन्त्रलाई अझै पनि।
अमेरिका जस्तो देशमा पनि कहाँ सजिलो छ डलर कमाउन र बचाउन् ? अपार्टमेन्टको खर्च, बत्ती, पानी, ग्याँस ,गाडीको किस्ता, खान लाउन, इन्सुरेन्स, औषधी मुलो आदी इत्यादि अत्यावश्यक खर्च टारेर जम्मा भएको थोरै पैसाले आफ्नो पेटमा पटुका बाँधेर लाखौ नेपाली दिनरात नभनि घोट्टिरहेका छन्। र पनि सहयोगका हातहरू अगाडि बढाई रहेका छन्।
यसरी वीर नेपालीका दानी हात बाट एनआरएनएले पनि प्राण पाईरहेको छ आज सम्म। समाज चलाउने ,संस्था अर्थात धर्मशाला चलाउने र यस्ता ठाउँको नेतृत्व लिने ब्याक्ति समाज र समुदाय प्रति उत्तरदायि हुन जरूरी छ। यस्ता संस्था चलाऊन कुनै छल कपट दाउपेच जानेका छली र कपटी सकुनी रुपी पासा पल्टाउन जान्ने मान्छे हुनु पर्छ भन्ने पनि होइन। संस्था चलाउन मनमा एउटा कुरा राख्ने मुखले अर्को कुरा बोल्ने हुनु पर्छ भन्ने पनि होइन।
समाज चलाउने त केवल निस्वार्थ र सबैको भलाईमा आफ्नो भलाई देख्ने हुनु चाहि पक्कै पनि जरुरी छ। समाजमा लिन जाने होईन, समाजलाइ त अब म केही दिन्छु भनेर जाने हो। मलाई यो जीवनमा अब केही पनि चाँहिदैन। म समाज, संस्कार, र रितीरिवाज लाई सहि बाटोमा लान सक्छु र आफु पनि सहि आचरणमा बस्छु भन्ने मान्छेले समाज चलाऊने हो।
समाज चलाऊने एउटा नेत्रित्व गर्ने व्यक्ति खराब हुँदा अवश्य पनि त्यसको प्रभाव पुरै समाजले भोग्नु नै पर्छ। एउटा कुहिएको आलुले पुरै बोरा कुहाइ दिन्छ भन्ने संस्थामा पनि नियम लागु हुन्छ। समाजमा नेत्रित्व गर्ने मान्छेलाई सबैले हेरिरहेको हुन्छ। उसलाई सबैले चारै तिरवाट अध्यायन र अनुसन्धान गरिरहेका हुन्छन्। त्यो कुरा पनि नेतृत्व गर्ने सामाजिक अभियन्ताले बुझ्नु पर्ने हुन्छ । तसर्थ समाजलाई नेतृत्व गर्ने ब्याक्ति सजग र सतर्क बन्न जरूरी छ। त्यसैले एनआरएनएको अगुवा बन्छु भन्ने हरूले यो कुरालाई आत्मसात गर्नु जरुरी छ।
एनआरएनए कै कुरा गर्दा एनआरएनए अमेरिका संसारकै सबै भन्दा ठूलो एनआरएनए भए पनि विश्व सम्मेलनमा अमेरिकाको पहुँच कति दयनिय छ र थियो भन्ने कुरा केही समय अगाडी सम्पन्न भएको बिश्व सम्मेलनलाई हेरे पुग्छ। एनआरएनए अमेरिका कमजोर हुनु र निर्णायक बन्न नसक्नुको प्रमुख कारण यो पनि अर्को हो। एनआरएनए अमेरिकाले सवा वर्ष अगाडिकै कुरा गरौ त्यतिवेला भर्खरै जीतेर लागाएको अविर नपुछिंदै र लगाएको माला नसुक्दै भएको विश्व सम्मेलनमा बिचारको भन्दा दाउपेचको मन्थन बढि भयो।
झगडा ,मुद्दा ,ब्याक्तिगत रिसिवि र हार्डड्राईभ पेनड्राईभको खेल ,राजनीति ,गुटवन्दि र जातिय लडाईको दल दलमा अमेरिकाको कंचन नेपाली समाजलाई हामीले धमिल्यायौँ। यसको नैतिक जिम्मेवारी हामी सबैले लिनु पर्छ। त्यसैको परिणाम होला झण्डै चारलाख नेपाली भएको देशमा २०१५–१७ मा झण्डै सत्र हजार सदस्य बन्न सफल भएको संस्था आज पन्द्र सय सदस्य काउन सकिएको छैन्। मतभेद र फरक बिचार जति नै भए पनि हामीले अव गल्ति बाट पाठ सिकेर अगाडी बढ्नुको बिकल्प छैन। अब टुट्ने होइन जुट्ने कुरा गरौँ। जुटेरनै हाम्रो समाज, नेपाल र नेपाली तथा भावी सन्ततिको लागि पनि उदाहरणीय बन्न सकोस। जय एनआरएनए
३ फाल्गुन २०७५, शुक्रबार ०७:१३ मा प्रकाशित