आवास कार्यक्रम : २४ करोड सकियो, गरीबको पीडा उस्तै

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार ०५:४०

– काशीराम शर्मा
जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् ।

लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान ल्याएर थोरै लगानीमा बनाएका घर बस्न योग्य भने देखिँदैनन् । कतिपय लक्षितवर्गका घर अहिले पनि निर्माण हुनसकेका छैनन् । निर्माण भएका पनि प्रयोग गर्न सकिने अवस्थामा देखिँदैनन् । कतिपय लक्षितवर्गले अनुदानको पाउनुपर्ने रकम नपाउँदा समस्या झेल्नुपरेको छ ।

कार्यक्रमअन्तर्गत घर निर्माण रोकिएपछि बाँकेको इन्द्रपुरमा बसोबास गर्दै आएका कुछबधिया र बेलासपुरमा रहेका चिडिमार समुदायका गरीब तथा विपन्न परिवार समस्यामा परेका छन् । लोपोन्मुख कुछबधिया सुमदायले जाँतो, सिलौटो, सनपाटको डोरी बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।

बेलासपुरमा रहेको चिडिमार बस्तीका कतिपय विपन्न तथा लोपोन्मुख परिवारको सरकारी घरमा बस्ने सपना अहिले पनि पूरा हुनसकेको छैन । बेलासपुरको चिडिमार बस्तीमा सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाउने भने पनि अहिलेसम्म घर बन्न नसकेको स्थानीयको भनाइ छ । गत वर्ष घर निर्माणका लागि काम शुरू गरिएको थियो ।

तर, अन्तिम किस्ता रकम नपाउँदा उजागर रैदासले आफ्नो घरको छानो छाउनसमेत नसकेको बताउनुभएको छ । रैदासजस्तै बाँके र बर्दियामा धेरै विपन्न परिवार जनता आवासकै लापरवाही र उदासीनताका कारण बिचल्लीमा छन् । घर निर्माणको काम अधुरो हुँदा चिसो मौसममा खुला आकाशमुनि र गर्मीमा तातो घाममुनि दिनरात काट्नुको विकल्प नभएको रैदासको भनाइ छ ।

“छाना छाउने कर्कटपाता किन्न पैसा छैन”, उहाँले भन्नुभयो, “यस्तो गर्मी छ खुला आकाशमुनि कसरी ज्यान बचाउनु ।” उहाँजस्ता चिडिमार बस्तीका धेरै परिवारको सरकारी घरमा बस्ने आश मरेको छ । महादी चिडिमारको समस्या पनि उस्तै छ । उहाँलाई पनि बिहानबेलुकाको छाक टार्न मुस्किल छ । “ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवार पाल्नु कि घर बनाउनु ?” उहाँले दुखेसो पोख्नुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाइदिने भनेको पक्की घरमा बस्ने सपना देखेका बाँके र बर्दियाका विपन्न, दलित, लोपोन्मुख र अति सीमान्तकृत समुदायको घर निर्माणको काम जनता आवासकै कारण अलपत्र परेका छन् । लक्षित वर्गकै नाममा वा घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवासले बाँके बर्दियामा रु २४ करोड बढी रकम खर्च गरिसकेको छ ।

उक्त रकम कहाँ, कसरी, किन र कसका लागि खर्च भयो, यसको कुनै लेखाजोखा छैन । यद्यपि ती घर निर्माण गरेवापत रु २४ करोड रकम खर्च भएको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख होमनाथ भुसाल बताउनुहुन्छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा दुवै जिल्लामा थप एक÷एक हजार घर निर्माण गर्ने भनिएको थियो ।

तर, बजेट निकासा नै नभएका कारण प्रक्रिया अघि बढ्न सकेन । गरीब परिवारलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अलपत्र परेको छ । सङ्घीय सरकारले थालेको कार्यक्रम प्रदेशमा हस्तान्तरण भएपछि २०७५ साउनदेखि जनता आवासको काम ठप्प छ । आर्थिक वर्ष २०७३/७४ मा बाँकेमा एक हजार २० र बर्दियामा एक हजार ३० घर निर्माण गर्नुपर्ने थियो ।

जसमध्ये गत आर्थिक वर्ष २०७४/७५ मा बाँकेमा ४०० र बर्दियामा ८०० घर जेनतेन निर्माण भएका छन् । तर, यी सबै घर बस्न योग्य भने देखिँदैनन् । कुछबधिया समुदायका अगुवा पटवारी कुछबधियाका अनुसार इन्द्रपुरको कुधबधिया टोलमा ४६ घर छन् । तीमध्ये १६ परिवारले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन् । तर, ३० परिवारले अझै घर बनाउन सहयोग पाएका छैनन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत तराईका विपन्न मुसहर, चमार, मुस्लिम तथा पहाडमा दलित समुदायका दमाई, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटेलगायतका जातिलाई सुरक्षित घर बनाउन तीन किस्तामा गरी रु साढे ३ लाख अनुदान दिँदै आएको भुसालको भनाइ छ । जनता आवासको सहयोगमा बन्ने घर कम्तीमा दुई कोठाको, भूकम्पप्रतिरोधी हुनुपर्ने प्रावधान छ ।

दमकलमा पानी अभाव

यहाँ आगलागी भयो भने तत्कालै निभाउन सकिने स्थिति छैन । नेपालगञ्ज उपमहानगरपालिकाको आफ्नै दमकल छ । तर, पानी भर्नका लागि नजिकै पर्याप्त धारा र खोला छैनन् । नेपालगञ्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नु परिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको छ । उद्योग पूर्णरूपमा जल्यो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक नारायण डाँगी बताउनुहुन्छ । उहाँका अनुसार आगलागी भएको जानकारी आउनासाथ प्रहरी घटनास्थल पुगेको हो । तर, आगलागी नियन्त्रण गर्न प्रहरीको केही लागेन ।

उपमहानगरपालिकाको दमकललाई पनि खबर गरिएको थियो । साइरन बजाउँदै दमकल आगलागीस्थल पुग्यो तर थोरै पानी बोकेर । प्रहरी निरीक्षक डाँगीले भन्नुभयो, “दमकलमा छिट्टै पानी सकिँदो रहेछ, थोरै पानी रहेछ, जसले गर्दा सानो आगलागी नियन्त्रणमा पनि समस्या देखियो ।”

दमकल अत्यावश्यक सवारीसाधन हो । सुक्खायाममा चालक तम्तयार हुँदैनन् । नेपालगञ्जमा चालक खोज्दै हिँड्नुपर्ने बाध्यता छ । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ । दमकलमा जनशक्ति मात्रै होइन, आवश्यकताअनुसार पानी भण्डारणको अभाव छ । यसले बाँकेवासीले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन ।

प्रहरीसँग दमकललगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टिनमा पानी बोकेर हाल्नेभन्दा विकल्प छैन । उनीहरू निरीह बन्दै आगलागी टुलुटुलु हेरिरहेका हुन्छन् । दमकल एउटा मात्रै हुँदा भनेकै समयमा घटनास्थलमा पुग्न सक्ने अवस्था पनि नभएको वारूणयन्त्र कार्यालय बताउँछ ।

शारदा कपास उद्योगमा आगलागीबाट रु एक करोड हाराहारीको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल नीरज गुप्ताले बताउनुभयो । आगलागी नियन्त्रणका लागि उपमहानगरपालिकाको दमकल पुगे पनि पानी अभावले उक्त दमकल फर्किएको थियो । उपमहानगरपालिकाको दमकलको पानी राख्ने क्षमता तीन हजार ५०० लिटर छ । यसअघि पनि यस्ता घटनामा दमकल समयमा नपुग्ने गुनासा धेरै आउने गरेका थिए । दमकलमा अट्ने क्षमताअनुसारको पानी नहुँदा बढी क्षति हुँदै आएको छ ।


१७ बैशाख २०७६, मंगलवार ०५:४० मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....