खुट्टा गुमाएकी अनिताको उपचारमा संकट

विमल धामी
कञ्चनपुर
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी १४ बर्षिय बालिका अनिता चौधरीको उपचारमा संकट परेको छ ।
पाँच महिना अघि रुखबाट खसेर घाईते भएकी अनिताले दायाँखुट्टा नै गुमाउनु परेको छ । गत असोज ११ गते गाईगोरुका लागि आहारा काट्न रुख चढेकी अनिता खसेकी थिईन् । उनको खुट्टामा समान्य चोट लागेपनि आर्थिक अभावका कारण उनको खुट्टा नै काटियो ।
बैजनाथ माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत अनिताको पढाई समेत प्रभावित भएको छ । फागुन २६ गतेदेखि परीक्षको कार्यतालिक सार्वजनिक भएपनि उनी अहिले पनि उपचारमै छिन् । पाँच महिनादेखि लगातार विद्यालय नगएका कारण उनको पढाई समेत चौपट भएको छ । पढाई मात्रै चौपट होईन जिवन नै धरापमा परेको छ । गरिखाने र अघि बढ्नका लागि हातखुट्टाको महत्वपुर्ण भूमिका हुने भएपनि उनले एक खुट्टा गुमाउँदा अब बैशाखीको भरमा अघि बढ्नुपर्ने बाध्यता आईलागेको छ ।
धनगढी सेती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनको कोहलपुर मेडिकल कलेजमा उपचार गरिरएको थियो । आमा गुमाएकी अनिताले खुट्टा मात्रै गुमाईनन् । पढाई समेत गुमाउनुपर्ने बाध्यता देखिएको छ । खुट्टा काटेपनि निको नभएपछि उनी उपचारका लागि भौतारिदै अहिले महेन्द्रनगरको एनएसएसडब्लूएमा उपचार गर्दैछिन् । स्थानीय नेता सहित बेलडाँडी गाउँपालिकाले उनको उपचारका लागि आग्रह गरेपछि एनएसएसडब्लूएमा अहिले थेरापी भईरहेको परिवारजनले जनाएको छ ।
अनिताकी कान्छी आमा शुशिला चौधरीले आर्थिक अभावका कारण उपचारमा ढिलाई हुँदा छोरीको खुट्टा नै काट्नु परेको दुखेसो पोखिन् । ‘उपचारका लागि पैशाको जोहो गर्दागर्दै छोरीको खुट्टा पाकिसकेको रहेछ, ‘उनले भनिन, ‘ढिलाई हुँदा खुट्टा नै गुमाउनुपरेको छ, तै पनि निको भएको छैन् ।’ उपचारका लागि चार लाख रुपैया ऋण लागेको दुखेसो पोख्दै उनले अझैपनि निको नहुनेको चिन्ता लागेको उनको भनाई छ ।
स्थानीय गाउँलेहरुले ३५ हजार रकम संकलन गरेर दिएको बताउदै शुनिताले सहयोगको समेत अपेक्षा गरिन् । अनिताले नेपाली काँग्रेस कञ्चनपुरका सदस्य जनक धामीले उपचारका लागि सहयोग गरेको बताईन् । उनले काँग्रेस नेता धामीले आर्थिक सहयोग संकलन एव, खाता खोल्ने र उपचारको विषयमा चिन्तन मनन गर्दै साथ दिएको बताईन् । उनले बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाको पहलमा एनएसएसडब्लूएमा अहिले थेरापी भईरहेको समेत बताईन् । स्थानीयबाट सहयोग पार्ईएको उनको भनाई छ ।
बेलडाँडीका स्थानीय समेत रहेका काँग्रेस नेता जनक सिह धामीले उपचारका लागि सहयोग जुटाएर उनको राम्रो अस्पतालमा उपचार गराउनुपर्नेमा जोडदिए । उनले अनिताको जिवन निर्वाहका लागि सरकारले जिम्मा लिनुपर्ने भन्दै आफ्नो र पार्टीका तर्फबाट पहल गर्ने समेत आवश्वासन दिए । अनिताको जिवन निर्वाह र उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दै उनले विभिन्न व्यक्ति संघ संस्थामा आग्रह समेत गरेका छन् ।
अनिताको उपचारका लागि बेलडाँडी गाउँपालिकाले समेत सहयोग गर्ने बचन दिएको छ । गाउँपालिका प्रमुख धन बहादुर थापाले नानी अनिताको उपचारका लागि सक्दो पहल गर्ने परिवारलाई विश्वास दिलाएका थिए । अनितालाई सहयोगका लागि उनको परिवारले खातामा रकम दाखिला गर्नका लागि समेत आग्रह गरेको छ । अनिता चौधरीको बेलडाँडी स्थित एनएमबि बैंकमा ११८२४९००८१९७५६०००००१ नम्बरको खातामा रकम जम्मा गरिदिन समेत आग्रह गरिएको छ । चौधरी परिवारले सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगको अपेक्षा समेत गरेका छन् l
१२ फाल्गुन २०७५, आईतवार २२:०४ मा प्रकाशित